काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था स्टेप्सटुवाक (Steps2Walk) को आयोजनामा नेपालमै पहिलो पटक सञ्चालन गरिएको ‘फुट एण्ड एंकल डिफर्मिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा जटिल खुट्टा तथा गोलीगाँठोसम्बन्धी समस्या भएका ८ जना बिरामीलाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।
जेठ २० देखि २३ गतेसम्म नेपाल मेडिसिटीमा आयोजित कोर्षले खुट्टा तथा गोलीगाँठोका जटिल विकृतिको उपचार, चिकित्सकीय ज्ञान आदान–प्रदान तथा विशेषज्ञ चिकित्सकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ।
कार्यक्रमको सफल सञ्चालनमा नेपाल मेडिसिटीको अर्थोपेडिक विभागको प्रमुख भूमिका रहेको थियो। विशेषगरी फुट एण्ड एंकल सर्जन डा. दमन झाको नेतृत्व र समन्वयमा अन्तर्राष्ट्रियस्तरको यो कार्यक्रम नेपालमा आयोजना गरिएको हो।
स्टेप्सटुवाक विश्वका विभिन्न देशमा स्रोत–साधनको सीमित पहुँच भएका समुदायका बिरामीलाई निःशुल्क शल्यक्रिया, पुनर्स्थापना सेवा तथा स्थानीय स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा सहयोग पुर्याउँदै आएको संस्था हो। कार्यक्रमको आयोजना स्टेप्सटुवाकले गरेको भए पनि स्थानीय व्यवस्थापन, समन्वय तथा प्राविधिक सहजीकरण नेपाल मेडिसिटीले गरेको थियो।

उद्घाटन समारोहमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले अस्पताल उपचार केन्द्रमा मात्र सीमित नभई ज्ञान आदान–प्रदान, व्यावसायिक विकास तथा निरन्तर सिकाइको केन्द्रका रूपमा विकसित भइरहेको बताए। उनले अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहभागिताले नेपाली चिकित्सकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्टेप्सटुवाकका संस्थापक तथा अध्यक्ष डा. मार्क मायर्सनसहित चिलीका डा. क्रिस्टियन ओर्टिज, भारतका डा. राजेश साइमोन, पोर्चुगलका डा. म्यानुअल साउसा तथा अमेरिकाका डा. नरेन गुर्बानीलगायत विश्वप्रसिद्ध फुट एण्ड एंकल विशेषज्ञहरूको सहभागिता रहेको थियो।
चारदिने कार्यक्रमअन्तर्गत पहिलो दिन शैक्षिक तथा वैज्ञानिक सत्र सञ्चालन गरिएको थियो। दोस्रो दिन बिरामीहरूको विस्तृत परीक्षण र शल्यक्रियाको योजना तयार पारिएको थियो भने तेस्रो र चौथो दिन प्रत्यक्ष शल्यक्रिया सम्पन्न गरिएको थियो। कार्यक्रममा देशभरका विभिन्न अस्पतालका अर्थोपेडिक तथा फुट एण्ड एंकल क्षेत्रमा कार्यरत चिकित्सकहरूको सहभागिता रहेको थियो।
फुट एण्ड एंकल सर्जन डा. दमन झाले नेपालमा पहिलो पटक यस्तो विशेष कोर्ष आयोजना गरिएको उल्लेख गर्दै प्रत्यक्ष शल्यक्रियामार्फत युवा चिकित्सकहरूले अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग सिक्ने अवसर पाएको बताए। उनका अनुसार कार्यक्रमअन्तर्गत बालबालिकादेखि वृद्धवृद्धासम्मका ८ जना जटिल खुट्टा विकृतिका बिरामीलाई निःशुल्क शल्यक्रिया र उपचार सेवा प्रदान गरिएको छ।
नेपाल मेडिसिटीले यस कार्यक्रमलाई उपचार सेवा विस्तारसँगै ज्ञान हस्तान्तरण, सीप विकास तथा नेपालको फुट एण्ड एंकल उपचार क्षमतालाई सुदृढ बनाउने महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ। अस्पतालका अनुसार यस्ता कार्यक्रमले भविष्यमा नेपालमै जटिल खुट्टा तथा गोलीगाँठोसम्बन्धी समस्याको विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध गराउन मद्दत पुग्नेछ।






