काठमाडौं । रिभर फल्स पावर लिमिटेडको वार्षिक साधारण सभा (एजीएम) आज काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन पारित गरेको कम्पनीले जनाएको छ।
सभाले लेखापरीक्षक नियुक्ति, सञ्चालक निर्वाचनलगायत विभिन्न संस्थागत प्रस्तावहरू पनि अनुमोदन गरेको छ। कम्पनीका पदाधिकारीहरूले कम्पनीको वर्तमान अवस्था, आगामी योजना तथा ऊर्जा क्षेत्रको सम्भावनाबारे शेयरधनीहरूलाई जानकारी गराएका थिए।
सन् २००४ मा स्थापना भई सन् २०१५ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको रिभर फल्स पावर जलविद्युत् उत्पादनमार्फत ऊर्जा क्षेत्रमा सक्रिय रहेको छ। कम्पनीको शेयर सन् २०२२ देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छ।
सभामा कम्पनीले पारदर्शिता, सुशासन र दिगो विकासप्रतिको प्रतिबद्धता दोहोर्याउँदै उत्पादन क्षमता विस्तार तथा शेयरधनीको हित संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।
ऊर्जा खपत तथा विद्युत् निर्यातको बढ्दो सम्भावनाबीच सम्पन्न साधारण सभाले कम्पनीको आगामी रणनीति तथा दीर्घकालीन व्यवसायिक योजनालाई थप स्पष्ट दिशा दिएको विश्वास व्यक्त गरिएको छ।






