निजामती, सेना, प्रहरी र शिक्षकको सेवासुविधा निरन्तर वृद्धि हुने



काठमाडौं । निजामती कर्मचारी, नेपाली सेना, प्रहरी र शिक्षकहरुको सेवा सुविधा सम्मानजनक ढंगले निरन्तर वृद्धि हुने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गरेका हुन् । उनले भने, ‘कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न, सक्षम उच्चस्तरीय कार्यसम्पादन गर्न, कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजक रुपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं ।’

अर्थमन्त्री वाग्लेले सरकारको विद्यमान बोझिलो संगठन संरचना अब चुस्त बन्ने पनि बताए । संघीय मन्त्रालयको संख्या २२ बाट १८ कायम भइसकेको परिप्रेक्ष्यमा विभाग, कार्यालय र दरबन्दी कटौतिबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिइएको जानकारी उनले गराए ।

यस अन्तर्गत ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनर्संरचना गरिने छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार