नेपाली कांग्रेसले ३० वर्षमुनिका युवाहरूलाई आवेदन दिनेबित्तिकै सिधै क्रियाशील सदस्यता प्रदान गर्न सुरु गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन समितिका अनुसार युवाहरूको सहभागिता बढाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। समिति संयोजक तथा कांग्रेस महामन्त्री प्रदीप पौडेलले युवालाई पार्टीमा उचित अवसर र स्थान दिन यस निर्णयले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
उनले भने, “३० वर्षमुनिका युवाहरूलाई आवेदन दिनासाथ क्रियाशील सदस्यता दिन सुरु गरेका छौं। पार्टीमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न यो आवश्यक थियो।”
यसअघि नेपाली कांग्रेसमा साधारण सदस्यता लिएको कम्तीमा एक वर्षपछि मात्र क्रियाशील सदस्यता प्रदान गर्ने प्रचलन थियो। अब भने युवा लक्षित नयाँ व्यवस्थाअनुसार योग्य आवेदकले तत्काल क्रियाशील सदस्यता प्राप्त गर्नेछन्।
नेपाली कांग्रेसले वैशाखदेखि ‘जरा अभियान’ अन्तर्गत पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ। महामन्त्री पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले विभिन्न प्रदेशमा पुगेर जरा अभियानसँगै क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई पनि तीव्रता दिएको छ।






