बर्दियाको बारबर्दिया नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ। nनगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा यस कार्यक्रमका लागि १ करोड २९ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ।
राहत, अस्थायी, नगर शिक्षक, बालविकास शिक्षक (ईसीडी), विद्यालय कर्मचारी तथा सहयोगीलाई सामाजिक सुरक्षा कोषमा समेट्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। यसका लागि सबै सामुदायिक विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन तथा आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।
विद्यालय व्यवस्थापन समितिको निर्णय र प्यानसहित सामाजिक सुरक्षा कोषको आधिकारिक पोर्टलमार्फत फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ। विद्यालयमा कार्यरत सबै करार कर्मचारीलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
शिक्षक तथा कर्मचारीले नागरिकता, विवाह दर्ता, जन्मदर्तालगायत आवश्यक कागजात अद्यावधिक गरी केवाईसी अपडेटसहित आफ्नो विद्यालयमार्फत सूचिकृत हुनुपर्ने नगरपालिकाले जनाएको छ।







