काठमाडौं, २८ वैशाख । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीले कालीमाटीस्थित कालीमाटी ब्यांक्वेट हलमा आयोजना गरेको साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण, भावी लगानी योजना तथा संस्थागत सुशासनका विषयमा विस्तृत छलफल गरिएको थियो।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत अनुमोदन गरेको कम्पनीले जनाएको छ।
साधारणसभाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ। साथै, कम्पनीको सञ्चालक चयन, भविष्यमा उपयुक्त लगानी क्षेत्र पहिचान गरी लगानी विस्तार गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव समेत स्वीकृत गरिएको छ।
कम्पनीले आफ्नो रणनीतिक तथा सञ्चालन संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यले कम्पनीको नाम परिवर्तन तथा प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धी प्रस्ताव पनि सभाबाट पारित गरेको जनाएको छ।
नेपालको जलविद्युत् क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको युनाइटेड मोदी हाइड्रोपावरले नवीकरणीय ऊर्जाको विकास तथा लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कम्पनीको दाबी छ।





