काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८२ आगामी चैत १९ गतेदेखि २३ गतेसम्म भक्तपुरको मुक्तीमण्डप प्रदर्शनीस्थलमा आयोजना गर्ने भएको छ। एक्स्पोमा पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका ७०० भन्दा बढी प्रजातिका बिरुवासहित आधुनिक प्रविधि, मल, विषादी, बीउबिजन, गमला तथा कृषि उपकरणहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।
एक्स्पोमा ५६ वटा व्यावसायिक स्टल, २ वटा फुड स्टल, ३ वटा अफिसियल स्टल र प्रतिस्पर्धाका ४ वटा स्टल गरी जम्मा ६५ वटा स्टल रहनेछन्। आयोजकका अनुसार नर्सरी व्यवसायमा प्रवेश गर्न चाहने नयाँ उद्यमी, विद्यार्थी तथा व्यवसाय अध्ययन गरिरहेका व्यक्तिहरूका लागि एक्स्पो महत्वपूर्ण अवसर बन्नेछ।
संघका अनुसार नेपालभर हाल ३ हजार ७ सय १ वटा नर्सरी व्यवसाय सञ्चालनमा रहेका छन्। ती व्यवसायमार्फत वार्षिक करिब ६ अर्ब ४३ करोड रुपैयाँको कारोबार हुने गरेको छ भने प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब १ लाख २० हजारले रोजगारी पाएका छन्।
एक्स्पो अवधिभर उत्कृष्ट नर्सरी व्यवसायीलाई सम्मान गरिने, पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी क्षेत्रका प्रतिस्पर्धात्मक स्टलहरूको मूल्यांकन गरिने तथा उत्कृष्ट उत्पादन प्रदर्शनी गर्ने व्यवसायीलाई पुरस्कार प्रदान गरिने कार्यक्रम पनि रहेको छ। यसैगरी कृषि पत्रकारितामार्फत नर्सरी क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउने दुई जना सञ्चारकर्मीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ।
एक्स्पोमा करिब २५ हजार दर्शक सहभागी हुने र ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। प्रवेश शुल्क सर्वसाधारणका लागि प्रतिव्यक्ति १०० रुपैयाँ तथा विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ५० रुपैयाँ तोकिएको छ।





