हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशमा अभूतपूर्व जित हासिल गर्दै नेपाली राजनीतिक इतिहासमै नयाँ कीर्तिमान कायम गरेको छ। प्रदेशका ३३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये रास्वपाले ३१ सिट जित्दै एकल वर्चस्व स्थापित गरेको हो।
पहिलो पटक कुनै एक दलले बागमतीमा यति ठूलो संख्यामा सिट जितेको हो। बाँकी दुई क्षेत्रमा भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ले एक–एक सिट जितेका छन्। २०७९ को निर्वाचनमा देशकै प्रमुख शक्तिका रूपमा रहेको नेकपा एमाले भने यस पटक बागमतीमा शून्यमा सीमित भएको छ।
उपत्यकासहित बागमतीमा रास्वपाको ‘क्लिन स्वीप’
बागमती प्रदेशमा काठमाडौं, ललितपुर र भक्तपुर सहित १३ जिल्ला पर्छन्। राजधानी उपत्यकाका १५ वटै निर्वाचन क्षेत्र रास्वपाले जित्दै ठूलो राजनीतिक सन्देश दिएको छ।
-
काठमाडौंका १० वटै सिट रास्वपाको पक्षमा गए
-
ललितपुरका ३ वटै सिट रास्वपाले जित्यो
-
भक्तपुरका २ वटै सिट पनि रास्वपाले कब्जा गर्यो
यससँगै बागमतीका अधिकांश परम्परागत राजनीतिक गढहरू यस पटक नयाँ शक्तिले भत्काएको देखिएको छ।
दुई क्षेत्रमा मात्र रास्वपा पराजित
रास्वपाले जित्न नसकेको दुई क्षेत्रमा भने अन्य दल विजयी भए।
-
रसुवा–१ बाट नेपाली कांग्रेसका मोहन आचार्य विजयी भए। उनले १०,६५६ मत ल्याउँदा रास्वपाका बसन्त भट्ट ५,५७१ मतसहित दोस्रो भए।
-
सिन्धुपाल्चोक–२ बाट नेकपाका युवराज दुलाल २१,६९९ मतसहित निर्वाचित भए।
युवा नेतृत्वको उदय
यस पटक बागमतीबाट निर्वाचित रास्वपाका अधिकांश सांसद ५० वर्षभन्दा कम उमेरका छन्। सबैभन्दा कान्छा सांसद भने मकवानपुर–२ बाट निर्वाचित २५ वर्ष ९ महिनाका प्रशान्त उप्रेती बनेका छन्।
महिला प्रतिनिधित्व
बागमतीबाट निर्वाचित ३३ सांसदमध्ये ४ जना मात्र महिला रहेका छन्।
-
चितवनबाट सोविता गौतम
-
काठमाडौंबाट रञ्जु दर्शना (न्यौपाने)
-
ललितपुरबाट तोसिमा कार्की
-
धादिङबाट आसिका तामाङ
२०७९ र २०७४ को तुलना
२०७९ को निर्वाचनमा बागमतीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस थियो, जसले १३ सिट जितेको थियो। त्यसपछि रास्वपाले ७, माओवादी केन्द्रले ५, एमालेले ४, राप्रपाले २ सिट जितेका थिए।
त्यसअघि २०७४ मा भने नेकपा एमाले ले २० सिट जित्दै वर्चस्व कायम गरेको थियो भने माओवादी केन्द्रले ७ सिट जितेको थियो।
चितवनमा पनि रास्वपाको प्रभुत्व
चितवन का तीनै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ।
-
चितवन–१ : हरि ढकाल
-
चितवन–२ : रवि लामिछाने
-
चितवन–३ : सोविता गौतम





