शिक्षालाई उत्पादनसँग जोड्ने एमालेको योजना: विद्यालयमा निःशुल्क इन्टरनेट र डिजिटल-मैत्री पाठ्यक्रममा जोड



नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचन-२०८२ का लागि सार्वजनिक गरेको आफ्नो घोषणा पत्रमा शिक्षा क्षेत्रलाई ‘राष्ट्रिय निधिको निर्माण’ गर्ने प्रमुख आधारको रूपमा व्याख्या गरेको छ । “गुणस्तरीय शिक्षा, उन्नत प्रविधि: ज्ञानयुक्त नागरिक, देशका निधि” भन्ने संकल्पका साथ एमालेले शिक्षा क्षेत्रमा व्यापक सुधारको योजना अघि सारेको छ ।

एमालेको घोषणा पत्रमा शिक्षा सम्बन्धी उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्:

अनिवार्य र निःशुल्क विद्यालय शिक्षा: विद्यालय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउँदै पूर्व-प्राथमिक शिक्षासहित सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गरिने प्रतिबद्धता जनाइएको छ ।

शैक्षिक पूर्वाधारमा लगानी: सामुदायिक विद्यालयहरूको शैक्षिक पूर्वाधारमा राज्यको लगानी वृद्धि गर्ने र गरिबी वा भौगोलिक कठिनाइका कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख छ ।

पाठ्यक्रममा सुधार: शिक्षालाई केवल भर्ना र परीक्षा केन्द्रित मात्र नबनाई राष्ट्रप्रेम, उद्यमशीलता र सामाजिक उत्तरदायित्वमा आधारित बनाइनेछ । यसका लागि डिजिटल-मैत्री र नैतिक शिक्षासहितको समसामयिक पाठ्यक्रम विकास गरिने योजना छ ।

शिक्षकको क्षमता र आकर्षण: शिक्षाको गुणस्तर सुधार्न शिक्षकहरूको क्षमता र वृत्ति विकासमा जोड दिइनेछ । उच्च योग्यता भएका जनशक्तिलाई शिक्षण पेशामा आकर्षित गर्न विशेष कार्यक्रम ल्याइने घोषणा पत्रमा उल्लेख छ ।

कानुनी र संरचनागत सुधार: विद्यालय शिक्षा ऐन र उच्च शिक्षा सम्बन्धी ऐन जारी गरी शैक्षिक क्षेत्रको कानुनी अन्योलता अन्त्य गरिने एमालेको दाबी छ ।

प्रविधि र दिवा खाजा: कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा र किशोरीहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ । साथै, विद्यालयहरूमा निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने योजना पनि अघि सारिएको छ ।

उच्च र प्राविधिक शिक्षा: आर्थिक अभावका कारण कोही पनि किशोर-किशोरी प्राविधिक वा उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्नका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने उल्लेख छ ।

समग्रमा, एमालेले शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्दै दक्ष जनशक्ति निर्माण गर्ने र नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्य राखेको देखिन्छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार