सम्पन्न
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै पर्यटन क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम आज काठमाडौंको होटल यात्री, ठमेलमा सम्पन्न भएको छ।
नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघद्वारा आयोजित कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी, सरोकारवाला तथा कांग्रेस समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनका लागि पर्यटन क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको परिचय गराउनुका साथै उनीहरूको दृष्टिकोण र भावी कार्यदिशाबारे छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी उम्मेदवारहरूले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न नीतिगत सुधार, व्यवसायीमैत्री वातावरण र दिगो पर्यटन प्रवर्द्धन आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले पर्यटन व्यवसायीका समस्या समाधानका लागि संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता पनि जनाए।
कार्यक्रममा लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्य–मान्यतालाई आत्मसात् गर्दै कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको थियो। उपस्थित वक्ताहरूले आगामी निर्वाचनमा पर्यटन क्षेत्रबाट कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन एकजुट भएर लाग्न आग्रह गरे।
उक्त परिचयात्मक कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।





