ललितपुर । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आज आफ्नो १०औँ वार्षिक साधारण सभा (AGM) सफलतापूर्वक सम्पन्न गरेको छ। सभामा सेयरधनीहरू, सञ्चालक समितिका सदस्यहरू तथा उच्च व्यवस्थापनको उपस्थिति रहेको थियो।
सभामा कम्पनीको वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षित वित्तीय विवरण तथा आगामी दिनका रणनीतिक योजनाहरू प्रस्तुत गरिनुका साथै सेयरधनीहरूबाट अनुमोदन गरिएको छ।
सभाको प्रमुख केन्द्रविन्दु भोजपुर जिल्लामा निर्माणाधीन ४.९ मेगावाट क्षमताको अपर पिखुवा खोला जलविद्युत आयोजना रहेको थियो। यो आयोजना रन–अफ–रिभर (RoR) प्रविधिमा आधारित रहेको छ। कम्पनी व्यवस्थापनले आयोजनाको निर्माण प्रगति, नियामक निकायहरूसँगको समन्वय तथा आवश्यक स्वीकृतिबारे जानकारी दिँदै, यस आयोजनाले नेपालको नवीकरणीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ।
साधारण सभाले कम्पनीको भविष्यको पूँजी विस्तार तथा सार्वजनिक सहभागितासम्बन्धी प्रस्तावहरू समेत पारित गरेको छ। यसअन्तर्गत कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को प्रक्रियातर्फ अगाडि बढ्ने निर्णय गरेको छ, जुन नियामक निकायहरूको स्वीकृतिमा निर्भर रहनेछ। IPO प्रयोजनका लागि कम्पनीले माछापुच्छ्रे क्यापिटल लिमिटेड लाई इश्यु म्यानेजर तथा संस्थागत सल्लाहकार का रूपमा नियुक्त गरिसकेको छ।
सभालाई सम्बोधन गर्दै कम्पनीका अधिकारीहरूले दिगो ऊर्जा विकास, उत्तरदायी परियोजना कार्यान्वयन तथा परियोजनाबाट प्रभावित स्थानीय समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। व्यवस्थापनका अनुसार, अपर पिखुवाजस्ता साना तथा मध्यम क्षमताका जलविद्युत आयोजनाहरूले राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान दिनुका साथै स्थानीय आर्थिक विकासलाई पनि टेवा पुर्याउँछन्।
यसैबीच, नेपालमा जलविद्युत क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको वर्तमान सन्दर्भमा सम्मिमा हाइड्रोपावरको १०औँ वार्षिक साधारण सभा सम्पन्न हुनु महत्वपूर्ण मानिएको छ।
सेयरधनीहरूको अनुमोदनसँगै कम्पनी अब आयोजना कार्यान्वयनलाई तीव्रता दिने तथा सार्वजनिक लगानी प्रक्रियालाई अगाडि बढाउँदै विकासको अर्को चरणतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।






