हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ साधारण सभा सम्पन्न, ८% नगद लाभांश पारित



काठमाडौं ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२औँ वार्षिक साधारण सभा (AGM) आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जू श्रेष्ठसहित सञ्चालक समिति सदस्यहरू तथा सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट स्वीकृत गरिएको छ।

सभामा अध्यक्ष श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बीमा व्यवसाय विस्तार, वित्तीय अवस्था तथा आगामी रणनीतिबारे जानकारी गराएका थिए। सीईओ अञ्जू श्रेष्ठले कम्पनीको कार्यसम्पादन सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा सेवाको गुणस्तर र डिजिटल बीमा प्रणालीलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिन्।

साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ७ गते मङ्गलवार