सहारा बचत तथा ऋण सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित



ललितपुर, २७ पुस २०८२ — ललितपुर महानगरपालिकाको महालक्ष्मी नगरपालिका–सिद्धिपुरमा रहेको सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। महालक्ष्मी नगरपालिकास्थित शिवम ब्यांकेटमा आयोजित उक्त साधारणसभामा संस्थाका अध्यक्ष, सञ्चालक तथा पदाधिकारीसहित सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 ८ प्रतिशत लाभांश स्वीकृत

साधारणसभाले आर्थिक वर्ष २०८१/०८२को नाफाबाट सेयर सदस्यहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सहकारी विभागको निर्देशन र मापदण्डअनुसार सदस्यहरूलाई उचित प्रतिफल दिन सफल भएकोमा सभामा सन्तोष व्यक्त गरिएको थियो।


वित्तीय प्रतिवेदन प्रस्तुत, सुशासनमा जोड

सभामा आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। आन्तरिक लेखा परीक्षण तथा सुपरिवेक्षण समितिका संयोजक जितेन्द्र महर्जनले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार समीक्षा अवधिमा सञ्चालक समितिका १३ वटा बैठक बसेर नीतिगत निर्णयहरू लिइएको, कर्जा उपसमितिमार्फत प्रवाह गरिएका कर्जाहरू पर्याप्त धितो सुरक्षणमा आधारित भएकाले जोखिम न्यून रहेको उल्लेख गरिएको छ। साथै, आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन प्रक्रिया अघि बढाइएको जानकारी पनि दिइयो।

आगामी योजना र सुधारका सुझाव

संस्थालाई थप सबल र दिगो बनाउन सुपरिवेक्षण समितिले तीन महत्वपूर्ण सुझाव अघि सारेको छ। जसअन्तर्गत निक्षेपको अनुपातमा सेयर पुँजी वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, भाखा नाघेका कर्जाहरूको प्रभावकारी असुली प्रक्रिया अवलम्बन गर्ने तथा आधुनिक प्रविधि प्रयोग गरी सेवा प्रणालीलाई डिजिटलाइजेसन गर्ने विषय समेटिएका छन्।

कार्यक्रम सञ्चालन गर्दै संस्थाका सचिव राजेन्द्र नेमकुलले सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार सदस्यहरूको आर्थिक सशक्तीकरणमा संस्था निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। “भविष्यका लागि बचत गर्ने बानी बसालौँ” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै संस्था अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

 

 

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार