चम्पावती हाइड्रोपावर लिमिटेडको १६ औं वार्षिक साधारण सभा शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भव्य रूपमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष टुकप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणहरू सर्वसम्मतिले पारित गरेको छ। सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गरेको छ।
अध्यक्ष न्यौपानेले सभालाई सम्बोधन गर्दै गोर्खा र लमजुङको सिमानामा बहने चेपे खोलामा निर्मित ७ मेगावाट क्षमताको ‘चेपे ए’ जलविद्युत आयोजनाले सफलतापूर्वक व्यावसायिक उत्पादन गरिरहेको जानकारी दिनुभयो। विगतमा आएको बाढी र पहिरोका कारण आयोजनाका केही संरचनामा क्षति पुगेर उत्पादनमा अवरोध आए पनि हाल आयोजना पूर्ण क्षमतामा सञ्चालन भई राष्ट्रिय प्रसारण लाइनमा योगदान पुर्याइरहेको छ। अनुभवी इन्जिनियरहरूको नेतृत्वमा रहेको यो कम्पनीले जलविद्युत क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाएको उहाँले दाबी गर्नुभयो।
कम्पनीले अब सर्वसाधारणका लागि १६ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (IPO) निष्कासन गर्ने प्रक्रियालाई तीव्रता दिने भएको छ। हाल ५६ करोड कुल जारी पूँजीमध्ये संस्थापकहरूबाट ४० करोड चुक्ता भइसकेको र बाँकी रकम सर्वसाधारण तथा स्थानीयबासीका लागि शेयर जारी गरी संकलन गरिने कम्पनीले जनाएको छ। उत्पादन सुरु भइसकेको र आगामी दिनमा वित्तीय अवस्था थप सुदृढ हुने अपेक्षाका साथ कम्पनीले आफ्ना शेयरधनीहरूलाई उचित प्रतिफल दिने लक्ष्य राखेको छ।





