गोरक्ष हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न, आयोजनाको निर्माण कार्य तीव्र गतिमा



काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारण सभा अध्यक्ष लाल प्रसाद सावा लिम्बुको सभापतित्वमा अनलाइन माध्यमबाट सफलतापूर्वक सम्पन्न भएको छ।

सभामा अध्यक्ष सावा लिम्बुले कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गोर्खा हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित २५.४ मेगावाट क्षमताको सुपर आँधिखोला जलविद्युत आयोजनाको हालसम्मको प्रगति विवरण शेयरधनीहरूलाई जानकारी गराए। उनका अनुसार आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) निर्माण कार्य सम्पन्न भइसकेको छ र आवश्यक स्तरोन्नति कार्य पनि निरन्तर रूपमा भइरहेको छ।

अध्यक्षले जानकारी दिएअनुसार इनलेट पोर्टल र एडिट पोर्टल क्षेत्रमा आवश्यक निर्माण सामग्री ढुवानीका लागि अस्थायी बेली ब्रिज जडान गरिएको छ। आयोजनास्थलमा नेपाली सेनाको सहयोगमा आवास गृह, कार्यालय भवन तथा सुरक्षा संरचनाको निर्माण कार्य सम्पन्न भइसकेको छ। सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउन नेपाली सेनाको स्थायी तैनाथीसमेत गरिएको छ।

सभामा प्रस्तुत विवरणअनुसार सुरुङ मार्ग उत्खनन (सुरुङ खन्ने) कार्य तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म इनलेट टनेलतर्फ करिब १००० मिटर सुरुङ उत्खनन कार्य सम्पन्न भइसकेको छ। त्यसैगरी सेट्लिङ बेसिन, फ्लड वाल तथा हेडवर्क्स निर्माण कार्य करिब ८५ प्रतिशत सम्पन्न भएको जानकारी दिइयो।

कुल आयोजनागत लागतको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थामार्फत व्यवस्थापन भइसकेको र कर्जा निकासी (ड्रडाउन) प्रक्रिया पनि सहज रूपमा अघि बढिरहेको अध्यक्षले जानकारी दिए। आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि आवश्यक प्रसारण पूर्वाधार निर्माण प्रक्रियासमेत अघि बढाइएको छ।

सभामा कम्पनीका शेयरधनीहरूले आयोजना निर्माणमा देखिएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गर्न व्यवस्थापन पक्षलाई सुझाव दिएका थिए। अन्त्यमा अध्यक्ष सावा लिम्बुले कम्पनीप्रति विश्वास व्यक्त गर्ने सम्पूर्ण शेयरधनी, बैंक तथा वित्तीय संस्था, स्थानीय बासिन्दा, सरकारी निकाय तथा अन्य सरोकारवाला पक्षप्रति धन्यवाद ज्ञापन गर्दै सभा समापन गरे।

प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार