आइएमई लाइफ इन्स्योरेन्सको नवौँ साधारण सभा सम्पन्न, १०.५२६३२ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण सभा (AGM) काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सफलतापूर्वक सम्पन्न भएको छ।

साधारण सभाले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको आधारमा कुल १०.५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यसअनुसार कम्पनीले ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरिएको छ। साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ।
त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट कुनै संशोधन वा परिमार्जनको निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ। गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएका खर्चहरूलाई समेत सभाले अनुमोदन गरेको छ।

आइएमई लाइफ इन्स्योरेन्स नेपालको अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो। आधुनिक प्रविधिमा आधारित सेवा, विविध जीवन बीमा योजना, सशक्त शाखा सञ्जाल तथा ग्राहककेन्द्रित सेवाका कारण कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान मजबुत बनाउँदै आएको छ। वित्तीय अनुशासन, सुशासन र दिगो विकासलाई प्राथमिकतामा राख्दै कम्पनीले भविष्यमा पनि नवीन बीमा सेवा विस्तार गर्ने रणनीति अघि सारेको छ।

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार