नवरस साकोसको १८औँ वार्षिक साधारणसभा सम्पन्न, वित्तीय सूचकमा उल्लेखनीय सुधार



काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको नवरस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। चावहिलस्थित ए–वान पार्टी प्यालेसमा आयोजित साधारणसभाले संस्थाको गत आर्थिक वर्षको समग्र प्रगति समीक्षा गर्दै आगामी वर्षका लागि रणनीतिक योजना तथा कार्यक्रमहरू पारित गरेको छ।
सभामा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाले उल्लेखनीय प्रगति हासिल गरेको छ। कुल बचत रकम अघिल्लो आर्थिक वर्षको रु. ३४ करोड १० लाखबाट बढेर रु. ४२ करोड ४४ लाख पुगेको छ भने कर्जा लगानी रु. ३० करोड ३९ लाखबाट वृद्धि भई रु. ३८ करोड ४१ लाख पुगेको छ। यस्तै, सेयर पूँजी पनि रु. २ करोड ९१ लाखबाट बढेर रु. ३ करोड ३७ लाख नाघेको छ।
सभामा अध्यक्ष शिवहरी पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले डिजिटल सेवामा जोड दिएको बताउनुभयो। उहाँका अनुसार “नवरस साकोस” मोबाइल एपमार्फत सदस्यहरूले घरमै बसेर बिजुली र खानेपानीको महसुल तिर्न, मोबाइल रिचार्ज गर्न तथा हवाई टिकट काट्न सक्ने सुविधा प्रभावकारी रूपमा सञ्चालनमा छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले सदस्यका जेहेन्दार छोराछोरीलाई ‘सदस्य शिक्षा पुरस्कार’ प्रदान गर्ने, राहत कोष सञ्चालन गर्ने र वार्षिक क्यालेन्डर प्रकाशन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी पनि सभामा दिइयो।
सचिव उत्तम पुरुष दाहालको सञ्चालनमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति तथा लेखा परीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। साथै, नयाँ कार्यसमिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन र संस्थाका विनियम तथा आन्तरिक कार्यविधिमा गरिएका संशोधनहरू पनि अनुमोदन गरिएको छ।
कोषाध्यक्ष श्रवण कुमार मिश्रले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा सदस्यहरूको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको र संस्था उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गर्न सफल भएको उल्लेख गर्नुभयो।
१८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले आफ्ना सम्पूर्ण सेयर सदस्य, बचतकर्ता र शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ आधुनिक, पारदर्शी र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार