काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा विभिन्न एकाइगत रूपमा सम्पन्न भएको छ। संस्थाको सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा २०८२ साल मङ्सिर २७ गते, पौष ५ गते र १० गते गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आयोजना गरिएको हो।

संस्थाले जारी गरेको सूचनाअनुसार पहिलो एकाइगत सभा काठमाडौं महानगरपालिका तथा आसपासका क्षेत्रका सदस्यहरूको सहभागितामा सम्पन्न भएको थियो भने दोस्रो सभा भक्तपुर र ललितपुर जिल्लाअन्तर्गतका सदस्यहरूका लागि आयोजना गरिएको थियो। तेस्रो एकाइगत साधारण सभा काठमाडौं महानगरपालिकाका अन्य वडाका सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ।
साधारण सभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि विस्तृत छलफलपछि पारित गरिएको छ। साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट स्वीकृत गरिएको छ।

लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल बचत रकम अघिल्लो वर्षको तुलनामा केही घटेको भए पनि तरलता अनुपात सन्तोषजनक अवस्थामा कायम रहेको उल्लेख गरिएको छ। जोखिम न्यूनीकरणका लागि संस्थाले तरलता व्यवस्थापन, कर्जा प्रवाहमा सावधानी र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा संस्थाको कर्जा तथा सापट प्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिए पनि कर्जा जोखिम व्यवस्थापनमा विशेष ध्यान दिइएको जनाइएको छ। कर्जा असुली प्रक्रिया प्रभावकारी बन्दै गएको र सदस्यहरूको किस्ता तथा ब्याज भुक्तानीमा सुधार आएको उल्लेख गरिएको छ। संस्थाले कृषि, साना व्यवसाय तथा उत्पादनशील क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकता दिएको जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा ब्याज आम्दानीमा केही कमी आए पनि प्रशासनिक तथा सञ्चालन खर्च नियन्त्रणमा राख्दै वित्तीय अनुशासन कायम गरिएको संस्थाले जनाएको छ। कर्मचारी तथा अन्य सञ्चालन खर्चमा कटौती गरी संस्थाको आर्थिक सन्तुलन कायम गरिएको उल्लेख गरिएको छ।
साधारण सभाले संस्थाको विनियम तथा आन्तरिक नीति–कार्यविधिमा आवश्यक संशोधन पारित गर्नुका साथै सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा प्रमुख कार्यकारी अधिकृतको भत्ता, सेवा सुविधा र पारिश्रमिकसम्बन्धी प्रस्तावहरू पनि स्वीकृत गरेको छ।
संस्थाले आगामी दिनमा बचत संकलन वृद्धि, कर्जा जोखिम न्यूनीकरण, सदस्य सेवा विस्तार तथा डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिने जनाएको छ। सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार संस्थालाई अझ पारदर्शी, सुदृढ र उत्तरदायी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
साधारण सभाको समापनमा संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा सम्पूर्ण सदस्यहरूप्रति सहयोग र सहभागिताका लागि धन्यवाद ज्ञापन गरिएको छ।





