काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको साधारण सभा पुस ७ गते राजधानी काठमाडौँमा आयोजना गरिएको हो।
सभाले शेयरधनीलाई हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको आधारमा कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावअनुसार बैंकले ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। यसका लागि क्रमशः १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रुपैयाँ ३० पैसा नगद लाभांश तथा १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा बराबरको बोनस सेयर वितरण गरिनेछ।
लाभांश वितरण पश्चात बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसामा पुग्नेछ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखा परीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ वटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र सुदृढ आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तारलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।





