जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा प्रवेश गरेको छ। शुक्रबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफ पुग्ने चौथो टोली बनेको हो।

लुम्बिनीको जितसँगै अब प्लेअफ पुग्ने चारै टोलीको टुंगो लागेको छ। जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोज पनि प्लेअफ प्रतिस्पर्धाबाट बाहिरिएका छन्। कर्णाली याक्स यसअघि नै होडबाहिर थियो।

यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ सुनिश्चित गरिसकेका थिए। सुदूरपश्चिम बाहेक बाँकी तीन टोलीले पहिलोपटक एनपीएलमा प्लेअफ यात्रा बनाएका हुन्।

सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ भने लुम्बिनीले एलिमिनेटर खेल्नेछ। अब शनिबार हुने सुदूरपश्चिम र विराटनगरबीचको खेलपछि लिगको दोस्रो र तेस्रो स्थान निर्धारण हुनेछ।

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार