काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११:45 बजे चितवन राइनोज र जनकपुर बोल्ट्स बीच हुनेछ।
चार खेलमध्ये दुई जितसँगै ४ अङ्क जोडेर चितवन तालिकाको चौथो स्थानमा छ। प्लेअफ सम्भावना मजबुत बनाउन चितवनले आज जित आवश्यक छ। लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरका लागि भने प्लेअफमा टिक्न आजको खेल ‘जित्नैपर्ने’ स्थिति छ।
दोस्रो खेल दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच हुनेछ। दुवै टोलीका लागि प्लेअफमा पुग्न आजको खेल अत्यन्त महत्त्वपूर्ण छ। पोखरा ४ खेलमा २ अङ्कसहित सातौं र कर्णाली ५ खेलमा २ अङ्क जोडेर छैटौं स्थानमा छन्।
अहिलेसम्म अपराजित सुदूरपश्चिम रोयल्स १० अङ्कसहित प्लेअफ गारण्टा गर्ने पहिलो टोली बनेको छ।
यस्तै काठमाण्डौ गोर्खाज ६ खेलमा ८ अङ्कसहित दोस्रो, विराटनगर ५ खेलमा ८ अङ्कसहित तेस्रो र लुम्बिनी लायन्स ४ अङ्कसहित पाँचौं स्थानमा छन्।
आठ फ्रेन्चाइज टोली सहभागी एनपीएलको दोस्रो संस्करण मङ्सिर १ देखि सुरु भएको हो र मङ्सिर २७ सम्म चल्नेछ।





