काठमाडौं । देशभर आज २१औँ राष्ट्रिय कफी दिवस उत्साहपूर्ण रूपमा मनाइँदै छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले “कफी खेती गरौँ, स्वरोजगार बनौँ” भन्ने नारासहित कीर्तिपुरस्थित समशितोष्ण वागवानी केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको छ, जहाँ कफी किसान, स्टेट सञ्चालक, प्रसोधन उद्योग, कफी व्यवसायी तथा सर्वसाधारण उपभोक्ताको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ।
माग तीव्र, उत्पादन स्थिर
कफी दिवस मनाइँदै गर्दा नेपालमा कफीको माग अभूतपूर्व रूपमा बढिरहेको छ, तर उत्पादन सोअनुसार विस्तार हुन नसकेको बोर्डले जनाएको छ। सहरमैत्री कफी संस्कृति, क्याफे व्यवसायको तीव्र विस्तार, युवा पुस्ताको जीवनशैलीमा आएको परिवर्तन र अन्तर्राष्ट्रिय बजारमा ‘नेपाली कफी’ को आकर्षणले घरेलु उपभोग वर्षेनि उकालो लागिरहेको छ।
तर, उत्पादनले मागको गति धान्न नसक्दा आयातमा भारी निर्भरता बढ्दै गएको छ।
आयात बढ्दो, निर्यात घट्दो
आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६४२ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन गरे पनि सोही समयमा २३० मेट्रिक टन कफी (१४ करोड ४१ लाख रुपैयाँ बराबर) आयात गर्नुपरेको तथ्यांकले नेपालको कफी क्षेत्रमा उत्पन्न असन्तुलन देखाउँछ।
निर्याततर्फ त झनै कमजोर अवस्था देखिएको छ—गत वर्ष ८८ हजार किलोग्रामभन्दा बढी कफी निर्यात भएकोमा यस वर्ष घटेर करिब ६४ मेट्रिक टनमा सीमित भएको छ।
११ वर्षमा उत्पादन वृद्धि भए पनि बजार विस्तारको गति तेज
२०७०/७१ मा ४२९ मेट्रिक टन रहेको कफी उत्पादन २०८१/८२ मा बढेर ६४१.९ मेट्रिक टन पुगेको छ। उत्पादन वृद्धिको गति सकारात्मक देखिए पनि बजार माग र आयात वृद्धिको दर निकै तीव्र छ।
बोर्डका अनुसार यस वर्ष मात्रै २३४ मेट्रिक टन कफी आयात हुँदा यसको मूल्य १४४ करोड रुपैयाँ नाघेको छ, जसले नेपाली कफी उद्योगले सामना गरिरहेको चुनौती झनै स्पष्ट हुन्छ।
समन्वय र नीति–सुधार बिना कफी क्षेत्र टिकाउ बन्न सक्दैन : बोर्ड
बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेका अनुसार कफीको भित्री माग बढिरहेको, युवाको आकर्षण तीव्र रूपमा उकालो लागेको र अन्तर्राष्ट्रिय बजारले नेपाली स्पेसियालिटी कफीलाई उच्च मूल्य प्रदान गरिरहेको वर्तमान परिस्थितिमा किसान संरक्षण, क्षेत्र विस्तार, बजार व्यवस्थापन र नियमनमा तीनै तहका सरकारबीच एकीकृत प्रयास अपरिहार्य छ।
कफी क्षेत्र विस्तारका लागि नयाँ पहल
बोर्डले कफी उत्पादन विस्तारका लागि सम्भावित क्षेत्रमा चक्लाबन्दीमार्फत कफी क्षेत्र विस्तार, डेमो प्लट निर्माण, व्यवसायिक नर्सरी स्थापना तथा अनुसन्धान प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
युवालाई कफी खेती र कफी स्टेट विकासमा आकर्षित गर्न विशेष “स्टार्टअप कार्यक्रम” ल्याउने तयारी भइरहेको बोर्डले जानकारी दिएको छ। यसले कफी खेतीलाई टिकाउ रोजगारी तथा आकर्षक आय–आर्जनको नयाँ विकल्पका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।





