अष्टसिद्धि सहकारीको १६औं साधारणसभा सम्पन्न, शान्ति तिमिल्सिना अध्यक्षमा निर्वाचित



काठमाडौं । टोखा नगरपालिकास्थित अष्टसिद्धि बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। सभाले शान्ति तिमिल्सिना ढकाललाई अध्यक्षमा निर्वाचित गरेको हो।

यस्तै, पार्वती शर्मालाई सचिव र सीतादेवी काफ्लेलाई सदस्यमा निर्वाचित गरिएको छ। कार्तिक २२ गते शनिबार कार्यवाहक अध्यक्ष मिना देवी शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुशिला घिमिरेद्वारा प्रस्तुत आर्थिक विवरण तथा लेखा परीक्षण प्रतिवेदन छलफलसहित पारित गरेको छ।

संस्थाको शेयरपूँजी रु. १ करोड ६४ लाख ६८ हजार २००, निक्षेप रु. १७ करोड ८० लाख ७५ हजार ९०७.७८ र कर्जा लगानी रु. १२ करोड ४१ लाख ५४ हजार ८७९.५६ रहेको उल्लेख गरिएको छ। सो आर्थिक वर्षमा संस्थाले रु. ३५ लाख ४२ हजार ३४२.११ को खुद नाफा आर्जन गरेको जनाएको छ।

नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले आफ्नो नेतृत्वमा सहकारीलाई अझ सशक्त, पारदर्शी र सदस्यमैत्री संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते सोमवार