श्रीवृक्ष बचत तथा ऋण सहकारीको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । धुम्बाराहीस्थित श्रीवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शनिबार (२२ कार्तिक, २०८२) अध्यक्ष दिपेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन २०८१/८२, लेखा परीक्षण प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरू छलफलपछि सर्वसम्मत पारित गरेको छ।

अध्यक्ष बस्नेतले संस्थाले सुशासन र दक्ष जनशक्ति निर्माणमा अपनाएको विधि नेपालकै लागि नमुना बन्दै गएको बताए। उनले चुनौतीपूर्ण अवस्थामा पनि सहकारीका मूल मूल्य, मान्यता र सिद्धान्तप्रति अडिग रहँदै सहकारीलाई सामाजिक व्यवसायको रूपमा सुदृढ बनाइरहेको उल्लेख गरे।

उनका अनुसार सदस्यहरूको सहजताका लागि घरमै गएर बचत फिर्ता सेवा, तथा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्योग र व्यापारलाई प्राथमिकतामा राखेर प्रविधिमैत्री कार्यक्रमहरू सञ्चालन भइरहेको छ। हाल सहकारीसँग १,९७८ जना सदस्य रहेका छन् र उनीहरूमार्फत करिब १३ करोड रुपैयाँ पूँजी संकलन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म सहकारीको

  • शेयरपूँजी: रु. १,४९,१३,२००/-
  • कुल बचत निक्षेप: रु. ११,०७,७३,०५१/-
  • कर्जा लगानी: रु. ७,३९,७३,४१९/-
  • जगेडा कोष: रु. २३,२३,९२०/-
  • अन्य कोष: रु. ३,३०,१४५/-
  • तरलता मौज्दात: रु. ४,१६,४८,१५१/- रहेको सहकारीले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार