भक्तपुर । बराही हाइड्रोपावर पब्लिक लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा (एजीएम) सम्पन्न गर्दै हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। सभा भक्तपुरको सूर्यविनायक–८, दोलेश्वर भिलेज रिसोर्टमा आज दिउँसो सम्पन्न भएको हो।
सभामा कम्पनीका सेयरधनी, सञ्चालक समिति सदस्य र सरोकारवालाहरूको उपस्थितिमा आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्रस्तुत गरी समीक्षा गरिएको थियो। बैठकले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव सर्वसम्मत पारित गर्दै वित्तीय पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले पूँजी सुदृढीकरण र आगामी जलविद्युत् परियोजनाहरूलाई थप गतिशील बनाउन हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ। हकप्रद बिक्रीबाट संकलित रकम प्रभावकारी रूपमा परियोजनाहरूमा प्रयोग गरिने कम्पनीले जनाएको छ। एजीएमको सफल सम्पन्नतासँगै बराही हाइड्रोपावरले नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो योगदानलाई अझ सुदृढ बनाउने संकल्प दोहोर्याएको छ।





