रावा इनर्जी डेभलपमेन्ट लिमिटेड यस वर्षदेखि संचालन मुनाफामा



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेड हाइड्रोपावर कम्पनी यस आर्थिक वर्षदेखि संचालन मुनाफामा गएको छ। यही कार्तिक १२ गते काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतमले कम्पनीले चालु आर्थिक वर्षमा खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी शेयरधनीहरूलाई दिएका हुन्।

सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन, वासलात, लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरणहरूमा छलफल गरी पारित गरेको छ।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी पाँच वर्षदेखि सञ्चालनमा ल्याएको हो।

आ.व. २०८१/८२ मा कम्पनीले विद्युत् बिक्रीबाट रु. ९ करोड ६७ लाख ५४ हजार ९०१ आम्दानी गरेको जनाएको छ।

छैठौं वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २७ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो।
आ.व. २०७९/८० मा शेयरको सार्वजनिक निष्कासन (IPO) गर्न सफल यो कम्पनीको शेयर अहिले नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकृत भई कारोबार भइरहेको छ।

कम्पनीका अनुसार, हालसम्मको बजार अवस्थालाई हेर्दा रावा इनर्जीको शेयर मूल्य उत्साहजनक रूपमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार