काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारणसभा आज भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा भव्यरूपमा सम्पन्न भएको छ।
बैंकका संचालक समितिका अध्यक्ष बाल गोपाल बैद्यको अध्यक्षतामा सम्पन्न सभाले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले साथै बैंकका अध्यक्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ।
त्यस्तै, बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि सभाबाट पारित भएका छन्।
सभामा बोल्ने अधिकांश सेयरधनीहरूले बैंकको लाभांश वृद्धि गर्न संचालक समितिलाई आग्रह गरेका थिए। उनीहरूले बोनस र नगद लाभांशको अनुपात ५०/५० बनाउनुपर्ने सुझाव समेत दिएका थिए।





