काठमाडौं मेडिकल कलेजले १० प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौं, कार्तिक ११ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। सोमबार भक्तपुरस्थित कलेज परिसरमा सम्पन्न कम्पनीको १६औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट करसहित उक्त प्रस्ताव पारित गरेको हो।

सभाको अध्यक्षता कम्पनीका कार्यकारी अध्यक्ष सोईना शर्माले गरेकी थिइन् भने च्यारिटि इन्टरनेशनल नेपालका अध्यक्ष तथा संस्थापक अर्जुन प्रसाद बाँस्तोला प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा प्रमुख व्यवस्थापन सल्लाहकार डा. खगेन्द्र प्रसाद न्यौपानेले कलेज र अस्पतालको वर्तमान अवस्था तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै संस्थाले गुणस्तर, पूर्वाधार र नाफा तीनै क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जानकारी दिए। उनका अनुसार हाल एमबीबीएसमा १३०, बीडीएसमा ४५, बीएससी नर्सिङमा ६०, बीएनएसमा २०, बीपीटीमा २० र एमडी/एमएसमा ८१ सिट स्वीकृत भएका छन्।

डा. न्यौपानेले कर्मचारी तथा नर्सहरूको तलब र सेवा सुविधामा निरन्तर सुधार गरिँदै जाने बताउँदै अस्पतालमा कार्य वातावरण बिगार्ने गतिविधिबाट टाढा रहन आग्रह गरे।

त्यस्तै, प्रमुख अतिथि बाँस्तोलाले आफ्नो पहलमा स्थापित स्वास्थ्य संस्था आज देशकै उत्कृष्ट शिक्षण अस्पतालका रूपमा विकसित हुन पुगेकोमा गर्व व्यक्त गर्दै समयअनुसार संस्थाको विस्तार र विकासमा जोड दिए।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज २० देखि ३० गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गरेको थियो। असोज १९ गतेसम्मका शेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार