काठमाडौं । नव–धवलागिरी बचत तथा ऋण सहकारी संस्था लि., टोखा काठमाडौंले आफ्नो १८औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ। सामाखुशीमा संस्थाका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभाले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
साधारणसभाले आगामी आ.व. सम्बन्धी बजेट कार्ययोजना पारित गर्दै सहकारी एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। त्यस्तै, आ.व. २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा उनको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरिएको छ।
वासलात प्रतिवेदन अनुसार, सहकारीको चालु आ.व.मा शेयर पूँजी ६ करोड ५४ लाख ११ हजार ७०० रुपैयाँ, निक्षेप १० करोड ७५ लाख ३ हजार ५१२ रुपैयाँ र ऋण लगानी १३ करोड ५६ लाख ६७ हजार ६७१ रुपैयाँ पुगेको छ। सहकारीले चालु आर्थिक वर्षमा २२ करोड ५४ लाख ७ हजार ८४३ रुपैयाँको कुल कारोबार गरेको जानकारी गराइएको छ।
कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको छ। हाल सहकारीमा १४४६ जना सदस्य सक्रिय रूपमा आवद्ध रहेको जनाएको छ। साधारणसभामा उपस्थित सदस्यहरूले राखेका प्रश्न तथा सुझावको जवाफ अध्यक्ष सन्तोष अधिकारी र प्रमुख कार्यकारी अधिकृत सुदर्शन अधिकारीले दिएका थिए।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो। सहकारीमार्फत आइएमइ, वेस्टर्न युनियन, आइएमइ पे, युनाइटेड रेमिट, हिमाल रेमिट, सिटी एक्सप्रेस लगायतका रेमिट सेवा पनि सञ्चालनमा रहेको जानकारी दिइएको छ।





