रौतहट । देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह र उनका सहयोगी अरविन्द प्रकाश साह घुस प्रकरणमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार राति प्रधानाध्यापक साहलाई रौतहटस्थित घरबाट, र सहयोगी अरविन्दलाई वीरगन्जबाट रंगेहात पक्राउ गरेको हो।
अख्तियार स्रोतका अनुसार माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै एक शिक्षकसँग ४ लाख ५० हजार रुपैयाँ घुस मागिएको सूचना आयोगसम्म पुगेपछि कारबाही गरिएको हो।
वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट अरविन्द प्रकाश साह पैसा लिँदै गर्दा समातिँए, त्यसपछि टोलीले धरहरी पुगेर प्रधानाध्यापक सञ्जय प्रसाद साहलाई नियन्त्रणमा लियो।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि त्यही रात काठमाडौं लगिएको रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले पुष्टि गरेका छन्।





