करार शिक्षक कटौती नहुने, शिक्षा मन्त्रालयले जारी गर्‍यो परिपत्र



काठमाडौं । सरकारले मितव्ययिता कायम गर्ने उद्देश्यले अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि सो व्यवस्था करार शिक्षकमा लागू नहुने भएको छ।

अर्थ मन्त्रालयले असोज ७ गते “अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने” सम्बन्धमा परिपत्र जारी गर्दै स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करार कर्मचारी नलिन निर्देशन दिएको थियो। सो निर्देशनपछि स्थानीय तह र विद्यालयहरूले “के यो नियम करार शिक्षकमा पनि लागू हुन्छ?” भन्ने प्रश्न उठाउँदै शिक्षा मन्त्रालयसँग स्पष्टिकरण मागेका थिए।

प्रश्नको जवाफमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई परिपत्र जारी गर्दै उक्त निर्णय करार शिक्षकको हकमा नलागू हुने जानकारी गराएको छ।

शिक्षा मन्त्रालयका अनुसार विद्यालय शिक्षासम्बन्धी पूर्व स्वीकृत दरबन्दी र आवश्यकता अनुरूप नियुक्त गरिएका करार शिक्षकहरूलाई कटौती गर्ने वा रोक लगाउने नीति अहिले लागु नहुने स्पष्ट पारिएको छ।

यससँगै देशभर कार्यरत हजारौं करार शिक्षकको रोजगारी सुरक्षित रहेको मन्त्रीस्तरीय स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार