काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्। अभिभावकको बैठकमा उनले राजीनामा दिएको जानकारी दिइएको हो। राणाले काठमाडौं र ललितपुर दुवै क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष पद छोडेकी हुन्।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी हुँदा विद्यालयको सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको थियो। त्यसपछि विद्यालय नयाँ ढंगले संचालन गर्ने योजनामा लागेको छ।
अभिभावक स्रोतका अनुसार अब युलेन्सले अभिभावकबाटै ट्रष्टी छान्ने प्रक्रिया अघि बढाउने भएको छ। प्रारम्भिक १५ वर्ष संस्थापक ट्रष्टी, त्यसपछि अभिभावक र त्यसपछि अल्मुनाइद्वारा विद्यालय सञ्चालन गर्ने रोडम्यापअनुसार काम भइरहेको जनाइएको छ।
हाल युलेन्सले अनलाइन कक्षा सञ्चालन गरिरहेको छ। कक्षा १० देखि १२ र आइबी कक्षा भने दशैंपछि प्रत्यक्ष रुपमा सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ। पूर्णरुपमा फेस टु फेस कक्षा आगामी ३–४ महिनाभित्र सञ्चालन गर्ने लक्ष्य विद्यालयले राखेको छ।





