काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूको तलब तत्काल निकासा गर्न निर्देशन दिएका छन्।
दशैं–तिहारको अवसरमा पनि तलब नपाएको गुनासो शिक्षकहरूले उठाएपछि मन्त्री पुनले पालिका र विद्यालय दुवै तहलाई चेतावनी दिएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत लेख्दै भने, “मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं–तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ।”
यस्तै, विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब रोकेको गुनासोसमेत आएको भन्दै उनले थपे, “भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकासा नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई समेत नियमानुसार कारबाही गरिनेछ।”
मन्त्री पुनले शिक्षकहरूको आर्थिक अधिकारमा अन्याय गर्ने कुनै पनि निकायलाई बर्खास्ती वा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।





