काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारणसभा काठमाडौं, महाराजगन्जमा बिहीबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सौरभ ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आ.व. २०८२ को वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरेको छ । त्यस्तै, आ.व. २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्तावसहित विभिन्न विशेष प्रस्ताव पनि सर्वसम्मतिले पारित भएका छन् ।
कम्पनीका अनुसार आ.व. २०८२ मा विद्युत बिक्रीबाट ५ करोड १७ लाख ८७ हजार ६०७ रुपैयाँ आम्दानी गरेको छ । हाल कम्पनीको शेयर पूँजी २२ करोड रुपैयाँ रहेको र अधिकृत, जारी तथा चुक्ता पूँजी पनि सोही बराबर रहेको साधारणसभामा जानकारी दिइयो ।
त्यसैगरी चालू आ.व.को असार मसान्तसम्म सम्बन्धित वित्तीय संस्थालाई सावाँ ३४ करोड १७ लाख रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिइएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–मिप्रा स्थित स्याङ्गे खोलामा निर्माण गरिएको २.४ मेगावाट क्षमताको स्याङ्गे खोला जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली बिक्री गर्दै आएको कम्पनीको हाल केन्द्रीय कार्यालय काठमाडौंको चन्डोलमा रहेको छ ।
साधारणसभामा अध्यक्ष ढकालसहित पदाधिकारीहरूले शेयरधनीहरूले उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।





