काठमाडौं । पियोर इनर्जी लिमिटेडको वार्षिक साधारण सभा काठमाडौंको बानेश्वरस्थित आनन्द भूमि इभेन्ट्समा सम्पन्न भएको छ। २०८२ साउन २९ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार भएको साधारण सभामा विशेष तथा सामान्य प्रस्तावहरू पारित गरिएको कम्पनीले जनाएको छ।
सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्दै सो सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको छ। त्यस्तै, आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण आदि) माथि छलफल गरी सर्वसम्मत पारित गरिएको छ। साथै, आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाबाट अनुमोदन भएको छ।
सभा सम्पन्नसँगै कम्पनीले बाँके, रनियापुरस्थित २० मेगावाट सौर्य फोटोभोल्टिक परियोजनाका दुवै ब्लक व्यावसायिक सञ्चालनमा आएको तथ्य पनि सार्वजनिक गरेको छ। ब्लक–२ बैशाख २०८० मा र ब्लक–१ पुस २०८० मा सञ्चालनमा आएसँगै पियोर इनर्जी नेपालकै सबैभन्दा ठूलो निजी सौर्य ऊर्जा उत्पादक बनेको छ। कम्पनीका अनुसार यस उपलब्धिले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ।
निर्माण अवधिमा वित्तीय तरलताको अभाव, उच्च ब्याजदर, मौसमजन्य चुनौती लगायतका अवरोधहरू सामना गर्दै परियोजना सफलतापूर्वक सम्पन्न गरिएको र अहिले नियमित रूपमा विद्युत् बिक्री भइरहेको कम्पनीले जनाएको छ।
आगामी दिनमा पनि दक्षता र लगानी प्रतिफल उच्च बनाउने, सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जामा नयाँ अवसर खोजी गर्ने, र राष्ट्रिय ऊर्जा रूपान्तरण तथा दिगो विकासका लक्ष्यअनुरूप योगदान गर्ने कम्पनीको योजना रहेको सभामा प्रस्तुत गरिएको छ।
यसै क्रममा नेपाल विद्युत् प्राधिकरणले हालसालै बोलपत्र प्रक्रियामार्फत ९६० मेगावाट बराबरका ६४ वटा परियोजनालाई अनुमति दिएकोमा, तीमध्ये १०० मेगावाट क्षमताका ५ वटा आयोजना सोल पावर लिमिटेडले पाएको छ। सो कम्पनीमा पियोर इनर्जीले २६ प्रतिशत लगानी गर्ने भएको छ। यी आयोजना दुई वर्षभित्र सञ्चालनमा आएपछि वार्षिक करिब २०० GWh विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।
सभाको अन्त्यमा कम्पनीले शेयरधनी, कर्मचारी, सरकारी निकाय तथा प्रभावित स्थानीयवासीप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ बलियो प्रतिबद्धतासाथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ।





