सहलहः सहकारीको १७औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं, असोज ४ सहलहः बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा शनिबार काठमाडौंको गल्कोपाखास्थित नमस्ते पार्टी भेन्युमा सम्पन्न गरेको छ।

सभाको उद्घाटन सहलहः नासखलःका थाकुलीले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका–२६ का वडा अध्यक्ष, विशेष अतिथि ‘मेरो डान्स’ कार्यक्रमका सेकेन्ड रनरअप सितु महर्जन तथा मिस नेपाल २०२५ की सहभागी एन्जेला रजक उपस्थित रहेका थिए।

उपाध्यक्ष विष्णुज्योती महर्जनले स्वागत मन्तव्य राख्दै दशैंको शुभकामना दिनुका साथै दिवंगत अध्यक्ष बुद्धराम महर्जनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले सहकारी क्षेत्रलाई नियमनका नाममा सीमित पार्ने ऐन नियम मात्र ल्याइएको भन्दै कर्जा असुली न्यायाधिकरण र कर्जा सूचना केन्द्रको शीघ्र गठनको अपेक्षा व्यक्त गर्नुभयो।

सभामा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०८१/८२ मा सहकारीको पूँजी वृद्धि भई चुक्ता पूँजी १ करोड ७४ लाख ७६ हजार पुगेको जानकारी गराइएको थियो। सोही अवधिमा निक्षेप १५ करोड ४ लाखसम्म पुगे पनि कर्जा परिचालन ११ करोड ८६ लाखमा झरेको प्रतिवेदनमा उल्लेख छ। तरलता अनुपात भने ४० प्रतिशतमा पुगेको छ।

सदस्य संख्यामा ६ जनाले कमी भई हाल संस्थामा १,१९३ जना सदस्य रहेको जानकारी दिइयो। संस्थाले ठूलो आवधिक बचत बन्द गरी ५ लाखसम्म मात्र नवीकरण गर्ने र साना बचतलाई प्राथमिकतामा राख्ने नीति अपनाएको पनि प्रतिवेदनमा प्रस्तुत गरिएको छ।

सभाले आ.व. २०८१/८२ को लेखापरिक्षण प्रतिवेदन, आगामी वर्षको बजेट तथा कार्यक्रम, लेखा परीक्षक नियुक्ति, लाभांश प्रस्तावलगायत एजेन्डामा छलफल गरी पारित गरेको छ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार