अरुण काबेली पावर लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । अरुण खोला जलविद्युत् विकास कम्पनी लिमिटेडको सहायक कम्पनी अरुण काबेली पावर लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा कम्पनीको वार्षिक प्रगति, वित्तीय विवरण तथा आगामी योजनाबारे प्रस्तुत गरिएको थियो।

कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लामा अवस्थित २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत् आयोजना निर्माण गरी वि.सं. २०७६ असोज १६ देखि व्यावसायिक उत्पादनमा ल्याएको हो। रन–अफ–रिभर प्रकारको उक्त आयोजनाबाट उत्पादित विद्युत् १३२ के.भी. प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको आमारपुर सबस्टेशनमा पठाइँदै आएको छ।

वि.सं. २०६७ पुस २३ मा विशेष प्रयोजन कम्पनीको रूपमा स्थापित अरुण काबेली पावरले सन् २०१२ मा एनईएसँग ग्रिड जडान र विद्युत् खरिद सम्झौता गरेको थियो। सम्झौता अनुसार वर्षायाममा प्रतिकिलोवाट घण्टा ४ रुपैयाँ ८० पैसा र सुख्खा मौसममा ८ रुपैयाँ ४० पैसामा विद्युत् बिक्री भइरहेको छ।

यसअघि कम्पनीले पिलुवाखोला (३ मेगावाट) र रिडी जलविद्युत् आयोजना (२,४०० किलोवाट) सफलतापूर्वक सञ्चालन गरेको अनुभव पनि प्रस्तुत गरिएको थियो। कम्पनीको मोडेलले साना लगानीकर्ताको सहभागिता बढाउँदै स्थानीय स्वामित्व र वित्तीय दिगोपनामा टेवा पुर्‍याएको उल्लेख गरिएको छ।

१५ वर्षभन्दा बढीको अनुभवसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीले स्वच्छ ऊर्जा क्षेत्रमा आफ्नो उपस्थिति मजबुत पारेको प्रबन्ध सञ्चालकले बताए। उनका अनुसार, काबेली बी–१ आयोजना सन्तोषजनक रूपमा सञ्चालन भइरहेको छ र यसले मुलुकको ऊर्जा आपूर्तिमा निरन्तर योगदान दिइरहेको छ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार