हिलटन हाइड्रो र स्नो रिभर्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीलाई नगद लाभांश दिने



काठमाडौँ । हिलटन हाइड्रो इनर्जी लिमिटेड र स्नो रिभर्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सेयरधनीलाई क्रमशः ५.२६३ प्रतिशत र ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

हिलटनले ताप्लेजुङमा निर्माण गरेको १२ मेगावाटको सुपर काबेली खोला जलविद्युत् आयोजना र स्नो रिभर्सले सञ्चालनमा ल्याएको १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ आयोजनाबाट उत्पादित विद्युत् हाल राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति भइरहेको छ । सुपर काबेली २०८१ चैत २ गतेदेखि र सुपर काबेली ‘ए’ २०८१ पुस ५ गतेदेखि ग्रिडमा जोडिएका हुन् ।

सञ्चालनमा आएको चार महिनामै हिलटनले आव २०८१/८२ का लागि ३ करोड ५७ लाख ८९ हजार ४७३ रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस्तै, स्नो रिभर्सले पनि चुक्ता पुँजी ७५ करोड रुपैयाँमा आधारित ३ करोड १५ लाख ७८ हजार ९४७ रुपैयाँ (करसहित) नगद लाभांश दिने निर्णय गरेको छ ।

दुवै कम्पनीले सेयर निष्कासनको तयारी अघि बढाएका छन् । हिलटनले १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता र १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सार्वजनिक गर्ने तयारी गरेको छ । स्नो रिभर्सले पनि आवश्यक प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दर्ता गरिसकेको जनाएको छ ।

यसैबीच, सुपर काबेली खोला ‘ए’ आयोजनालाई सुख्खायाममा पूर्ण क्षमतामा सञ्चालन गर्न आम्जि खोलाको पानी मुख्य हेडरेस पाइपमा मिसाउने काम चालु आवभित्र सम्पन्न गर्ने लक्ष्य रहेको स्नो रिभर्सका अध्यक्ष मोहनविक्रम कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार