शिक्षा विधेयक: शिक्षक महासंघ र निजी विद्यालय दुवै असन्तुष्ट, समितिबाट आज पास गर्ने तयारी



काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथि आज (भदौ ५ गते, बिहीबार) संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अन्तिम छलफल हुने भएको छ। बिहान ८ बजेका लागि बोलाइएको समितिको बैठकमा उपसमितिबाट आएको प्रतिवेदनलाई संशोधनसहित पारित गरी अन्तिम रूप दिने तयारी गरिएको छ।

यसअघि उपसमितिको प्रतिवेदन सांसदहरूलाई अध्ययनका लागि दुई दिन समय दिइएको थियो। अब समितिबाट पारित भएपछि विधेयक प्रतिनिधिसभामा पेस गरिने र त्यहाँबाट पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।

तर, विधेयकप्रति शिक्षक महासंघ र निजी विद्यालय दुवै असन्तुष्ट देखिएका छन्।

शिक्षक महासंघको चेतावनी

नेपाल शिक्षक महासंघले विधेयकमा शिक्षकका माग वेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएको छ। विशेषगरी आवधिक बढुवा, अस्थायी शिक्षक, कर्मचारी तथा प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्तासम्बन्धी व्यवस्थामा सहमति नभएको भन्दै महासंघले भदौ दोस्रो साताबाट देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आजै पत्रकार सम्मेलन गरेर आन्दोलनबारे थप धारणा सार्वजनिक गर्ने जनाएको छ।

निजी विद्यालयको आन्दोलन

निजी तथा आवासीय विद्यालय सञ्चालक संगठनहरूले भने पूर्ण छात्रवृत्तिमा आवासीय सुविधा अनिवार्य गर्ने र विद्यालयलाई गैरनाफामूलक बनाउने भनाइ हटाउनुपर्ने माग राखेका छन्। समितिका सदस्यहरू भने छात्रवृत्तिमा आवासीय सुविधा राख्नुपर्ने पक्षमा छन्।

यसैबीच, निजी विद्यालयहरूले आन्दोलन सुरु गरिसकेका छन्। आज बिहान ११ देखि १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्याली र कोणसभा गर्ने कार्यक्रम छ। त्यस्तै, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा गर्ने र काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डासहित र्याली गर्ने योजना बनाइएको छ।

असन्तुष्टिका बीच विधेयक अघि बढ्दै
शिक्षक महासंघ र निजी विद्यालय दुवैको असन्तुष्टिका बीच समितिले विधेयकलाई अन्तिम रूप दिने तयारी गरेको हो। अब प्रतिनिधिसभामा पेस भइसकेपछि मात्रै विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ्नेछ।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार