शिक्षक महासङ्घको आन्दोलनविरुद्ध सर्वोच्चमा रिट



काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आउँदो भदौ दोस्रो सातादेखि गर्न लागेको आन्दोलनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। चक्रवर्ती हवी एजुकेशन एकेडेमीका कानुन अध्ययनरत विद्यार्थी अर्जुन शाह र राहुल साहले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्।

विद्यार्थीहरूले रिट दायर गर्दै आन्दोलनका कारण पठनपाठन ठप्प भई बालबालिकाको अधिकार हनन् हुने दाबी गरेका छन्। उनीहरूले नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षक महासङ्घलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन्।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आन्दोलनरत विद्यालयका शिक्षकलाई तीन दिनभित्र कक्षामा फर्काइ पठनपाठन नियमित गराउन आदेश दिएको थियो। त्यसपछि स्थानीय तहहरूले पनि शिक्षकहरूलाई आफ्नो कर्तव्यमा फर्कन निर्देशन दिएका थिए।

तर, अदालतको अन्तरिम आदेश भइसकेपछि पनि शिक्षक महासङ्घले नयाँ आन्दोलन कार्यक्रम घोषणा गरेपछि पुनः विवाद चर्किएको हो।

रिट निवेदनमा संविधानले सुनिश्चित गरेको बालबालिकाको शिक्षा पाउने अधिकार, बालअधिकार संरक्षणसम्बन्धी प्रावधान, र पठनपाठन गर्ने मौलिक हक उल्लंघन हुने तर्क गरिएको छ। अदालतले यसबारे आगामी दिनमा आदेश जारी गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार