काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर साउनको ५.६८ प्रतिशतबाट भदौमा घटेर ५.५७ प्रतिशतमा पुगेको छ।
स्रोतका अनुसार भदौमा ८ वटा बैंकले ब्याजदर घटाएका छन्। कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआईले ब्याजदर घटाएका हुन्।
११ वटाले भने ब्याजदर स्थिर राखेका छन्। सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंकले साउनमा जस्तै दर कायम गरेका हुन्।
यस्तै, प्रभु बैंकले भने भदौमा ब्याजदर बढाएको छ।
बैंकहरू छोटो अवधिका निक्षेपमा तुलनात्मक रूपमा न्यून र लामो अवधिका लागि बढी ब्याजदर दिने प्रचलनमा छन्। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत र कर्जाको ब्याजदर पनि स्वतः घट्ने भएकाले यसले बजारमा प्रत्यक्ष असर गर्ने अनुमान गरिएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउन दबाव दिएपछि साउन महिनामा पनि ब्याजदर घटाइएको थियो। हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ।
असार महिनामा भएको उच्च पूँजीगत खर्चका कारण निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह सुस्त रहँदा बैंकहरूले भदौमा पनि ब्याजदर घटाउने निर्णय गरेका हुन्।
| बैंक | साउनको ब्याजदर | भदौको ब्याजदर |
| कृषि विकास | ५.४ | ५.२ |
| एभरेस्ट | ६.२५ | ५.७५ |
| नेपाल | ५.४ | ५.४ |
| लक्ष्मी सनराइज | ५.५ | ५ |
| माछापुच्छ्रे | ६ | ६ |
| एनआईसी एसिया | ६.२५ | ६.२५ |
| प्रभु | ४.२५ | ५.३५ |
| स्टान्डर्ड चार्टड | ६.२६ | ५.१३ |
| राष्ट्रिय वाणिज्य | ५.५ | ५.५ |
| नबिल | ५.५ | ५.५ |
| ग्लोबल आईएमई | ६ | ६ |
| सिद्धार्थ | ५.७५ | ५.५ |
| प्राइम कमर्सियल | ६ | ६ |
| कुमारी | ५.४१ | ५.२१ |
| सानिमा | ६.१८ | ५.७५ |
| हिमालयन | ६ | ६ |
| नेपाल एसबीआई | ५.३५ | ५.२५ |
| इन्भेस्टमेन्ट मेगा | ५.२५ | ५.२५ |
| एनएमबी | ६ | ६ |
| सिटिजन्स | ५.५ | ५.५ |





