काठमाडौं – फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको रुपान्तरणपश्चातको पहिलो साधारण सभा शुक्रबार (साउन ३० गते) डिडिआई बैंक्वेट, बुद्धनगरमा सम्पन्न भएको छ।
सभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६, फेदीखोलामा निर्माणाधीन ४.३ मेगावाट क्षमताको फेदीखोला (थुमलुङ) आयोजना आगामी २०८२ साल पुस अन्तिमसम्म सम्पन्न गर्ने जानकारी दिएको छ।
यस आयोजनाको लागत प्रारम्भिक अनुमानमा रु. ९४ करोड भए पनि २०८१ साउन १५ गतेको बाढीका कारण ४ करोडले बढेर कुल रु. ९८ करोड पुग्ने भएको छ।
-
सोमध्ये ४९ प्रतिशत (रु. ४८ करोड) स्वपूँजी शेयरधनीबाट
-
बाँकी ५१ प्रतिशत (रु. ५० करोड) राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट ऋण स्वरूप जुटाइनेछ।
सभाले कम्पनीको अधिकृत पुँजी ६० करोडबाट बढाएर ७० करोड पुर्याउने निर्णय गर्दै, सोको २५% अर्थात् रु. १७ करोड ५० लाख बराबरको शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने अधिकार सञ्चालक समितिलाई दिएको छ।
यसबाहेक कम्पनीले
-
वन्डर्स इनर्जी प्रालि. (खिम्ती घ्वाङ खोला, ९ मेगावाट) मा रु. ५ करोड लगानी गर्ने प्रतिबद्धतासहित रु. १ करोड
-
ईस्टर्न इनर्जी प्रालि. (ईर्खुवा खोला, १५ मेगावाट) मा रु. १५ करोड लगानी गर्ने प्रतिबद्धतासहित रु. २ करोड ५० लाख तत्काल लगानी गर्ने निर्णय पारित गरेको छ।
कम्पनीले आगामी वि.सं. २०९० सम्म कम्तीमा १०० मेगावाट क्षमताका आयोजना अघि बढाउने रणनीति लिएको छ।
त्यसैगरी कम्पनीको नियमावलीअनुसार सञ्चालक संख्या ५ हुने प्रावधानमा संस्थापक (क) समूहबाट आगामी ४ वर्ष कार्यकालका लागि चन्द्र प्रसाद वास्तोला, प्रकाश चन्द्र दुलाल र कविता अधिकारीलाई सञ्चालक चयन गरिएको कम्पनीले जनाएको छ।





