काठमाडौं, साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनका लागि आज साँझ ५ बजे परीक्षा बोर्डको बैठक बस्ने कार्यक्रम तय भएको छ।
बोर्ड स्रोतका अनुसार, आइतबार नतिजा प्रणालीको परीक्षण (डेमो) सफलतापूर्वक सम्पन्न भएको थियो। स्रोतले भन्यो, “हिजो डेमो गरिएको थियो, आज साँझ नतिजा सार्वजनिक गर्ने तयारी छ।”
क्यालेन्डर अनुसार साउन १५ भित्र नतिजा सार्वजनिक गरिनुपर्ने भएपनि, यस वर्ष शिक्षक आन्दोलनका कारण समयमै नतिजा आउन सकेन। गत २० चैतदेखि सुरु भएको आन्दोलन २९ दिन लामो चलेको थियो, जसले नतिजा तयारीको प्रक्रिया ढिलाइ गरायो।
शिक्षक आन्दोलनको असरले परीक्षा तालिकामा पनि हेरफेर भएको थियो। सुरूमा ११ वैशाखका लागि तय गरिएको परीक्षा अन्ततः २१ वैशाखदेखि सञ्चालन गरिएको थियो।
यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए। बोर्डले नतिजा प्रकाशित भएपछि विभिन्न वेबसाइट तथा एसएमएस सेवामार्फत् सार्वजनिक गर्ने तयारी पनि गरेको छ।
विद्यार्थी, अभिभावक र शिक्षकहरू अहिले साँझ नतिजा आउने खबरसँगै उत्सुक प्रतीक्षामा छन्।





