काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ देखि इसिडि (बाल विकास) शिक्षक, विद्यालय सहयोगी र लेखा सहायकको मासिक तलबमा वृद्धि गरेको छ। सरकारले सार्वजनिक शिक्षा प्रणालीमा काम गर्दै आएका सहयोगी कर्मचारीहरूको मनोबल वृद्धि गर्ने उद्देश्यले तलब दर समायोजन गरेको हो।
बालविकास केन्द्रमा कार्यरत इसिडि सहजकर्ताको मासिक तलब अबदेखि रु १२,००० पुगेको छ। अघिल्लो आर्थिक वर्षमा उनीहरूलाई रु १०,००० मात्र उपलब्ध हुने गर्दथ्यो। यस्तै, विद्यालय सहयोगीहरूको तलब पनि रु ८,००० बाट बढेर रु १०,००० कायम गरिएको छ।
त्यस्तै, विद्यालय व्यवस्थापन तथा प्रशासनमा महत्त्वपूर्ण भूमिका खेल्ने लेखा सहायकको तलब पनि चालु वर्षमा रु १२,५०० बाट बढेर रु १५,००० पुगेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार तलब वृद्धि सँगै सेवा सर्तमा सुधार र कामको प्रभावकारिता बढाउने लक्ष्य राखिएको छ। स्थानीय तह र विद्यालय व्यवस्थापन समितिहरूलाई पनि यसअनुसार बजेट व्यवस्थापन र कार्यान्वयनमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
यस तलब वृद्धिलाई विद्यालय तहमा सकारात्मक रूपमा लिइएको छ। कर्मचारीहरूले अबको दिनमा अझ जिम्मेवार र प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।






