शिक्षा विधेयक: शिक्षकको आवधिक बढुवामा सरकारको नयाँ प्रस्ताव



काठमाडौँ । सरकारले विद्यालय शिक्षा विधेयक अन्तर्गत शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव अघि सारेको छ। शिक्षामन्त्री र समितिबीच गत २२ असारमा सहमति नजुट्दा विधेयक अघि बढ्न सकेको थिएन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ प्रस्तावमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कनका ९० अंकलाई दुई भागमा विभाजन गर्ने व्यवस्था अघि सारेको छ।

समितिका एक सदस्यका अनुसार कार्यसम्पादन मूल्याङ्कनलाई यसरी विभाजन गरिएको छ:

  • ज्येष्ठता र कार्यसम्पादन: ४५ अंक

  • कार्यक्षमता र मूल्याङ्कन: ४५ अंक

समितिले तृतीय श्रेणीका शिक्षकको आवधिक बढुवा १० वर्षमा र दोस्रो श्रेणीको १२ वर्षमा हुने व्यवस्था प्रस्ताव गरेको छ।

तर, शिक्षक महासंघले पाँच वर्षभित्र ९० अंक ल्याउनुपर्ने शर्तलाई खुकुलो बनाउन दबाब दिइरहेको छ। यही विषयमा असहमति भएपछि २२ असारको बैठक स्थगित भएको थियो।

प्रकाशित मिति : २०८२ साउन १६ गते बिहिवार