शिक्षा विधेयक संसदमा पेश हुने पक्का, प्रतिवेदन लेखन अन्तिम चरणमा



काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक-२०८० संसदमा चाँडै पेश हुने बताएका छन्। उनका अनुसार लामो समयदेखि रोकिएको विधेयकको प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको छ।

थापाले प्रमुख दलका सचेतक, शिक्षामन्त्री रघुजी पन्त, समिति सदस्य तथा नेपाल शिक्षक महासंघबीच सहमति जुटेको र अब विधेयक पेस गर्न कुनै बाधा नरहेको स्पष्ट पारे।

उक्त विधेयकमा अस्थायी शिक्षकका लागि ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा, बालविकास सहजकर्तालाई ‘शिक्षक’ को मान्यता, विद्यार्थीका हकहित लगायतका विषयमा अडान यथावत् राखिएको उनले बताए।

उनका अनुसार समितिले ७५% प्रतिवेदन तयार गरिसकेको छ र बाँकी काम समितिको बैठकमार्फत छिट्टै टुंगो लगाइनेछ। थापाका अनुसार सहमति भएमा साउन १५ गतेभित्र प्रतिवेदन तयार गरी १६ र १७ गते अध्ययनका लागि प्रदान गरिने र साउन १८ गते अन्तिम रूप दिइसकेपछि संसदमा पेस गरिनेछ।

प्रकाशित मिति : २०८२ साउन १६ गते बिहिवार