ईसीडी कार्यकर्तालाई शिक्षकका रूपमा मान्यता दिनुपर्ने विषय सांसदहरूले उठाएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतवारको बैठकमा उक्त विषय उठेको हो । प्रारम्भिक बालविकासमा कार्यरत जनशक्तिलाई विधेयकमा पनि कार्यकर्ताको परिभाषा गरिएकोले न्यायोचित नहुने र त्यसको परिभाषामा शिक्षक हुनुपर्ने उनिहरूको भनाई थियो । पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले योग्यताका आधारमा शिक्षक बनाउनु पर्ने बताइन ।
सांसद ईश्वरी घर्तीले प्रारम्भिक बालविकासमा कार्यरत जनशक्तिलाई शिक्षकका रूपमा नराख्नुको कारण बारे सरकारलाई प्रश्न गर्दै राज्यलाई आर्थिक भार पर्छ भनेर बालबालिकामाथि खेलबाड गर्न नहुने बताइन । घर्तीले जसरी आधारभूत तह र माध्यमिक तह राखिएको छ त्यसैगरी प्रारम्भिक बालविकास कार्यक्रम नराखि प्रारम्भिक बालविकास तह राख्नुपर्नेमा जोड् दिइन ।
सांसद रेखा शर्माले पनि प्रारम्भिक बालविकासमा कार्यरत जनशक्तिलाई शिक्षक बनाउनु पर्ने र कक्षा १२ पास गरेका व्यक्ति राख्ने व्यवस्था गर्न लागिएपछि त्यो भन्दा माथिको योग्यता पुगेका शिक्षक छन् भने उनिहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट माथिल्लो तहमा जानका लागि व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरिन ।
सांसदहरू सुमना श्रेष्ठ, देवेन्द्र पौडेल,डिग बहादुर लिम्बु, दिपा शर्मा लगायतले इसिडी कार्यकर्तालाई शिक्षकका रूपमा ऐनमा नै व्यवस्था गरेर जानुपर्ने बताए ।





