शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक दरबन्दी मिलानका लागि सुझाब माग गरेको छ । प्राथमिक तहको विज्ञापन रोकेर राखेको मन्त्रालयले विद्यालय नक्साङ्कन, विद्यालय गाभ्ने र तल्लो तहका शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्ने सवालमा सुझाब माग गरेको हो ।
मन्त्रालयको शिक्षा तथा मानव स्रोत केन्द्रले उच्च स्तरीय दरबन्दी पुनरावलोकन कार्यदलले पेस गरेको प्रतिवेदन अध्ययनकै क्रममा रहेको जनाएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत शिक्षक दरबन्दी पुनरावलोकन गर्ने, विद्यालयको पुन नक्साङ्कन गरिने, नक्साङ्कनका आधारमा विद्यालय गाभ्ने नीति लिइने उल्लेख भएकोले राय, सुझाब दिन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।
जिल्लाका स्थानीय तहसँग समेत आवश्यक समन्वय गरी वस्तुगत तथ्य विश्लेषण गरी आवश्यक राय, सुझाब पठाउन भनिएको छ । केन्द्रले शिक्षक दरबन्दी कार्यविधि २०७६ बमोजिम शिक्षक दरबन्दी तथा व्यवस्थापन कार्य गर्दै आएको छ ।
यसैगरी प्राथमिक तहमा शिक्षक दरबन्दी बढी भएको प्रतिवेदनमा देखिएकोले तल्लो तहका शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्नुपर्ने धारणा शिक्षा मन्त्री रघुजी पन्तले बताउँदै आएका छन् । शिक्षक सेवा आयोगको कार्यतालिका अनुसार प्राथमिक तहको विज्ञापन खोल्नुपर्नेमा दरबन्दी मिलानकै कारणले आयोगको विज्ञापन प्रभावित भएको छ ।






