नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको ११औं वार्षिक साधारण सभा सम्पन्न

रत्न तथा आभूषण महासंघको घोषणापत्र सार्वजनिक, सम्पत्ति शुद्धिकरण कानुनको व्यवहारिक संशोधनको माग


काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आइतबार सम्पन्न ११औं वार्षिक साधारण सभामा ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । जसलाई वार्षिक कार्ययोजनाको महत्त्वपूर्ण अंगका रूपमा कार्यान्वयन गरिने निर्णय महासंघको छ ।

निर्देशिका अभाव, त्रुटिपूर्ण गुणस्तर मापन, आयात-निर्यातको अव्यवस्था, तथा मनी लाउन्डरिङ कानुनको व्यवहारिकताको अभावजस्ता विषय घोषणापत्रमा उठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आथित्यतामा साधारणसभा सम्पन्न भएको हो ।

सो अवसरमा सुनचाँदी तथा आभूषण व्यवसायमा आवश्यक पर्ने कानुनी तथा नीतिगत आधार समेटिएको ‘आभूषण व्यवसायमा कानुनी व्यवस्था’ नामक पुस्तकको प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको संयुक्त रूपमा लोकार्पण गरिएको थियो ।

कार्यक्रममा महासंघका सल्लाहकार, विज्ञ तथा देशभरिबाट आएका व्यवसायी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

घोषणापत्र

निर्देशिकाको अभावमा गरगहना व्यवसाय थप अन्योलग्रस्त बन्दै गएकोले ‘सुनचाँदी, गरगहनाको उत्पादन, कारोबार तथा नियमन मापदण्ड सहितको निर्देशिका’ अविलम्ब जारी गर्न नेपाल सरकार समक्ष पुनः जोडदार आग्रह गर्ने

आन्तरिक एवम् अन्तर्राष्ट्रिय बजारमा स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको विकास गर्नको लागि प्रतिस्पर्धा ऐनको प्रभावकारी कार्यान्वयन र उपभोक्ता संरक्षण ऐनमा समसामयिक सुधार गर्न नेपाल सरकार समक्ष माग गर्ने

स्वदेशमा सुन, चाँदी, पत्थरका गरगहना निर्यात गर्ने उद्योग व्यवसाय प्रवद्र्धन गरी युवाहरूको लागि रोजगारी वृद्धि गर्ने । परम्परागत सीप एवं कला, कौशललाई संरक्षण तथा दक्ष कालिगढहरू तयार गर्न नेपाल सरकारको सहयोगमा सीप विकास स्कूल महासंघले खोल्ने

नेपालको भूगर्भमा रहेका रत्न तथा पत्थरहरुको उत्खनन् र प्रशोधन क्षेत्रमा लगानी प्रवद्र्धन गर्न सरकार र महासंघको संयुक्त पहलमा कार्ययोजना बनाई लागू गर्न नेपाल सरकार समक्ष आग्रह गर्ने ।

सुनचाँदी आयात तथा विक्री वितरण कार्यविधि– २०६८ संशोधन गरी व्यवहारिक, व्यवसायी मैत्री कार्यविधि जारी गर्न पहल गर्ने । साथै प्रत्येक प्रदेशबाटनै आयातित कच्चा पदार्थको विक्री वितरण कार्य संचालन गरी व्यवसायीहरुले सुपथ, सरल र सहज तरीकाले खरीद गर्न पाउने अवस्था निर्माण गर्ने

गरगहनाको गुणस्तर मापन गर्ने विद्यमान पद्दति त्रुटीपूर्ण रहेकोले यस्तो संयन्त्रबाट परिक्षण गरिएको आधारमा व्यवसायीहरुलाई कानूनी कारबाही गर्नु अन्यायपूर्ण भएकोले संपूर्ण जिल्लाहरुमा गुणस्तर परीक्षण केन्द्र स्थापना गरी आम उपभोक्ता एवं गरगहना व्यवसायीहरुले सर्वसुलभ तरिकाले गुणस्तर परिक्षण गर्न सक्ने गरि गुणस्तरयुक्त आधुनिक मेसिन उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गर्ने

आर्थिक ऐन–२०८१ मा भएको व्यवस्थालाई महासंघले दिएको सुझावलाई कार्यान्वयनको लागि पहल गर्ने

सुनचाँदी गरगहना स्वदेशी उत्पादन तथा निर्यात व्यवसायलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मेलाहरूमा भाग लिने व्यवस्था गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने

सम्पत्ति शुद्धिकरण(मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा अव्यवाहारिक कानुनी व्यवस्थालाई संशोधन प्रस्ताव गरी संशोधनको पहल गर्ने

आभुषण व्यवसायलाई वृहत उद्यमको रुपमा स्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने

व्यवसायी मैत्री कानुन निर्माण तथा अव्यवहारिक कानुन संशोधनका लागी पहल गर्ने । राज्य वाट न्यायोचित माग सम्वोधन नभएमा विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार