काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्नो आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । यही जेठ ९ र १० गते काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेको परिषद् एक्कासी आफ्नो अडानबाट पछि हटेको छ । यसअघि सरकार र शिक्षक महासंघबीच भएको सहमतीमा विद्यालय कर्मचारीको विषय नसमेटिएको भन्दै हतास आन्दोलनको कार्यक्रम घोषणा गरेको परिषद्ले मन्त्रीस्तरीय निर्णयबाट माग सम्बोधन भएको भन्दै एक्कासी आन्दोलनका कार्यक्रम स्थगित गरेको हाे ।
शिक्षक आन्दोलन सम्झौतामा सकिएपछि आक्राेशित हुँदै शिक्षक महासंघकाे नेतृत्वमाथि झम्टिन गएको विद्यालय कर्मचारीको टोली यतिबेला आन्दोलन निल्नु न ओकल्नुको अवस्थामा पुगेपछि रन्थनिएको थियो । वार्तामा सँगै बसेर पनि आफ्नो माग र मुद्दा राम्राेसँग उठाउन नसक्दा सम्झौतामा नसमेटिएको विषयमा विद्यालय कर्मचारीको नेतृत्वले आत्मालोचना गनुपर्नेमा उल्टै महासंघको थाप्लोमा दोष थुपारेर आन्दोलनको घोषणा गरेको थियो ।
पानी बाराबारको सम्बन्ध भएको कर्मचारी परिषद्का अध्यक्ष र महासंघका अध्यक्षबीच मंगलबार घटक संस्थाका एक अध्यक्षको मध्यस्थतामा समझदारी भएको स्रोतले बताएको छ । उक्त समझदारीसँगै आन्दोलन फिर्ताको बाटो खुलेको स्रोत बताउँछ ।
मन्त्रीस्तरीय निर्णय विधेयकमा समेटिन्छ भन्ने कुनै ग्यारेन्टी नहुने हुँदा फेरी एकपटक विद्यालय कर्मचारीहरु चिसै पानीले नुहाउन बाध्य भएका छन् ।







